देश

काठमाडौँ २४ घण्टा खुलाउने तयारी



काठमाडौँ, २० कात्तिक

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो । उहाँले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रण गर्न घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो । ठमेलका समस्या समाधानका लागि जिल्ला प्रशासनमा मासिक बैठक गर्ने प्रस्ताव पनि उहाँले राख्नुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायत समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन स्थानीय र व्यवसायी तयार भए ट्राफिक प्रहरीले सहयोग गर्ने बताउनुभयो । जथाभावी पार्किङ गर्नेलाई कारबाही गरिने उहाँले उल्लेख गर्नुभयो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो । परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले विसं २०८१ वैशाख १ गतेदेखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा घरधनी तथा व्यवसायीले राति आवतजावतमा कठिनाइ, लागुऔषध कारोबार तथा सेवन, फोहोर, अव्यवस्थित पार्किङ र ढलका कारण सातघुम्तीमा पानी जम्ने समस्याबारे ध्यानाकर्षण गराएका थिए । परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । विसं २०४८ मा स्थापना भएको परिषद्ले ठमेलको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो । —

प्रकाशित : २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६