काठमाडौँ १७ भदौं
रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले जस्मिन पेन्ट्सले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम कोषमा जम्मा गरेको हो। जस्मिन पेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक लक्ष्मण अर्याल र कार्यकारी अधिकृत सौगात अर्यालले अर्थ मन्त्रालय पुगेर सहयोग रकम जम्मा गरेका हुन्।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको प्रयाससँगै निजी क्षेत्र, संघसंस्था तथा नागरिक स्तरबाट समेत सहयोग जुटिरहेको छ। यही क्रममा जस्मिन पेन्ट्सले गरेको २५ लाख रुपैयाँको सहयोगले राहत तथा उद्धार अभियानमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
विपद्को समयमा राज्यको प्रयास मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्र र सामाजिक संस्थाहरूको सहकार्य आवश्यक हुने गर्दछ। पीडित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न आर्थिक तथा मानवीय सहयोग जुटाउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष हो।
जस्मिन पेन्ट्सले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको जनाएको छ। विपद्को समयमा गरिएको यो सहयोगले निजी क्षेत्रलाई समेत सामाजिक उत्तरदायित्व प्रति थप सक्रिय हुन प्रेरणा दिने अपेक्षा गरिएको छ।










प्रतिक्रिया