बाणगंगा, कपिलवस्तु १९ भदौं
‘समृद्धिका लागि वन’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै उपभोक्ताको सामाजिक तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको छ। युवा पुस्ताको नेतृत्वमा अघि बढिरहेको समूहले वन व्यवस्थापन, सुशासन, सामाजिक उत्तरदायित्व र उपभोक्ताको हितलाई एकसाथ अघि बढाउँदै आएको छ।

मधुवन सामुदायिक वन उपभोक्ता समूहको २१औँ वार्षिक साधारणसभामा विगत वर्षका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा समेत तय गरिएको छ। समूहको आफ्नै भवन परिसरमा सम्पन्न सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण तथा लेखा प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि वन व्यवस्थापन, संरक्षण र विकासका योजना अघि सारेको हो।
सभामा समूहका अध्यक्ष दीपककुमार सापकोटाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ६ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। प्रस्तावित बजेटमा वन संरक्षण तथा संवद्र्धनसँगै उपभोक्ताको आर्थिक र सामाजिक विकासलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।
अध्यक्ष सापकोटाका अनुसार अति विपन्न वन उपभोक्ता परिवारलाई आवास सहयोग, गरिबी न्यूनीकरण तथा जीविकोपार्जनमा सहजीकरण, आयआर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तीकरण, सामुदायिक विकास, वन विकास तथा संरक्षण, स्वास्थ्य बीमा, स्वास्थ्य शिविर र खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना छ।
यसले सामुदायिक वनलाई काठ, दाउरा र वन पैदावारको स्रोतका रूपमा मात्र नभई उपभोक्ताको जीवनस्तर सुधार र स्थानीय विकासको साझेदार संस्थाका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ।

सभामा कोषाध्यक्ष राधिका थापाले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्नुभयो भने लेखा समितिका संयोजक मोहन अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै समूहको आर्थिक गतिविधि तथा खर्च व्यवस्थापनबारे जानकारी गराउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय तौलिहवा, कपिलवस्तुका जिल्ला वन अधिकृत प्रभात विक्रम सापकोटाले सामुदायिक वनमा उपलब्ध स्रोतसाधनको उचित उपयोग गर्न सके वनले उपभोक्ताको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउनुभयो।
उहाँले वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनको सुरुवात कपिलवस्तुबाटै भएको उल्लेख गर्दै प्राकृतिक स्रोतको सही सदुपयोग सहित वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। वन अतिक्रमण नियन्त्रणसँगै वन क्षेत्रभित्र रहेका खोल्सा–खोल्सीको व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
बाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्यालले वनको दिगो संरक्षण र संवद्र्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। वडा कार्यालय र सामुदायिक वनबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउँदै वनको पूर्वाधार विकास र उपभोक्ताको हितमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
मोतिपुर सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले मधुवन सामुदायिक वनले वन संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितमा गर्दै आएका कार्यको प्रशंसा गर्दै वनबाट प्राप्त स्रोतसाधनको दिगो र व्यवस्थित उपयोगमा जोड दिनुभयो।
वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले वन व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउनुपर्ने बताउनुभयो। सामुदायिक वनको व्यवस्थापनमा महिलाको सहभागिता अझ बढाउँदै नेतृत्व विकास र आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
साधारण सभामा मधुवन सामुदायिक वनका निवर्तमान अध्यक्ष शान्तविक्रम पौडेल, श्रृंगीघाट सामुदायिक वनका अध्यक्ष सुशील सिंह ठकुरी, त्रिशक्ति सामुदायिक वन तथा मधौलिया सामुदायिक वनका प्रतिनिधि, सल्लाहकार सदस्य, लेखा समिति तथा अनुगमन समितिका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा समूहका उपाध्यक्ष अमर कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव देवकला सुनारले सञ्चालन गर्नुभएको थियो।
४५०.६३ हेक्टर क्षेत्रमा फैलिएको मधुवन सामुदायिक वनमा १ हजार ३५ घरधुरी आबद्ध छन्। वन संरक्षणसँगै उपभोक्ताको सामाजिक, आर्थिक तथा जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको समूहले आगामी दिनमा पनि वन र उपभोक्ताबीचको सम्बन्धलाई अझ बलियो बनाउने लक्ष्य लिएको समूहका अध्यक्ष दिपक सापकोटाको भनाई रहेको छ ।










प्रतिक्रिया