तौलिहवा, कपिलवस्तु १९ भदौं
‘मानवीय सेवामा होराइजन’ भन्ने भावनालाई आत्मसात् गर्दै सिद्धिपुर होराइजन इङ्लिस बोर्डिङ एकेडेमी प्रालि र सयपत्री क्याम्पस प्रालिले रसुवा जिल्लाका विभिन्न क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति सहयोगको हात अघि बढाएका छन्।
बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले दुवै शैक्षिक संस्थाबाट संकलित २ लाख ७९ हजार ७ सय ७६ रुपैयाँ जिल्ला प्रशासन कार्यालय, तौलिहवा मार्फत सहयोग गरिएको हो। संकलित रकमको चेक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गरिएको संस्थाका कार्यकारी प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला शैक्षिक संस्थाबाट गरिएको यो सहयोगले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
सहयोग अभियानमा विद्यालय तथा क्याम्पस सञ्चालक समिति, कार्यकारी पदाधिकारी, प्राध्यापक, शिक्षक–शिक्षिका, इन्ट्रयाक्ट क्लबका सदस्य, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको जनाइएको छ।
कार्यकारी प्रमुख घिमिरेले विपद्को समयमा पीडितको दुःखमा साथ दिन सहयोग अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभएको छ।
प्राकृतिक विपद्का बेला राज्यको प्रयाससँगै विद्यालय, क्याम्पस, विद्यार्थी, शिक्षक तथा समुदायको सामूहिक सहभागिताले राहत अभियानलाई थप प्रभावकारी बनाउन सक्छ। सहयोगको रकम सानो–ठूलोभन्दा पनि पीडितको पीडामा साथ दिने भावना महत्वपूर्ण हुन्छ भन्ने सन्देश यस अभियानले दिएको छ ।










प्रतिक्रिया