ब्रेकिंग न्युज

टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण



भोजपुर, २१ भदौ

महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो । दुर्गम क्षेत्रका महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ‘कल्प इम्पावर वुमन नेपाल’की अध्यक्ष पूजा कोइरालाले बताउनुभयो । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्नसके उपचार प्रभावकारी हुने भएकाले अभियानलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । संस्थाले विशेषगरी महिला स्वास्थ्य तथा महिलाको नेतृत्व क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । संस्थाले हालसम्म करिब २५ हजार महिलालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको र यस वर्ष थप १० हजार महिलासम्म सेवा पुर्याउने लक्ष्य राखेर ‘मातृत्व जोगाउने अभियान’ सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्तन तथा पाठेघरको मुखको क्यान्सरको खोजी, पहिचान र रोकथामका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । यस्ता शिविरले सहज रूपमा सेवा पाउनुका साथै समयमा नै रोगको पहिचान गरी उपचारसमेत सहयोग पुग्ने उहाँको भनाइ छ । “पाठेघर र स्तन क्यान्सरको खोजी तथा पहिचान गर्न शिविरमार्फत सेवा दिएका हौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “शिविरले क्यान्सर रोकथाममा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।” शिविरसँगै महिलालाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले ‘सी क्यान’ (उनी सक्छिन्) अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यस्तै, किशोरीलाई समुदाय तथा सामाजिक विषयवस्तुबारे जानकारी दिन सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रममार्फत घरघर तथा समुदायस्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा महिला स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको बताइएको छ । स्वास्थ्य परीक्षणका क्रममा दुई महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शङ्कास्पद लक्षण फेला परेको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा रेखा साहले जानकारी दिनुभयो । अभियानका क्रममा महिलालाई क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे जानकारी प्रदान गरिएको छ ।

प्रकाशित : २१ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६