देश

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु



काठमाडौँ, २१ भदौ

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनःसुरु भएको छ । गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले यहाँ राणाकालदेखि नित्य आध्यात्मिक प्रवचन गर्दै आएको थियो । नित्य प्रवचन हुँदै आएको हनुमानढोका दरबार क्षेत्रको उत्तर दलान पुनःनिर्माण सम्पन्न भएपछि यही भदौ १४ गतेदेखि श्रीमद् भागवत भक्ति ज्ञान महायज्ञमार्फत ११ वर्षपछि कार्यक्रम सुरु गरिएको हो । भदौ २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने र त्यसै क्रममा दैनिक दुईदेखि तीन घण्टासम्म नित्य प्रवचन कार्यक्रम पनि सञ्चालन भइरहेको गुठीका अध्यक्ष पण्डित मधुसुदन पौडेलले राससलाई जानकारी दिनुभयो । स्थापनाकालमा हनुमानढोकाको विभिन्न स्थानमा नित्य प्रवचन हुँदै आएकामा राजा महेन्द्रको कार्यकालमा दरबारको उत्तर दलानमा यो कार्यक्रम गर्ने स्थान उपलब्ध गराइएको थियो । प्रत्येक वर्षको शारदीय नवरात्रमा यहाँ श्रीमद्देवी भागवत कथा हुने गरेको थियो । त्यसबेलाको प्रसाद तत्कालीन राजाकहाँ पुर्याउने गरिएको गुठीका अध्यक्ष पौडेलले बताउनुभयो । राजतन्त्रको अन्त्यपछि भने यो प्रसाद शीतल निवास लैजाने गरिएको छ । नित्य प्रवचन गर्न संस्थानको काठमाडौँ शाखाले मासिक रु एक हजार ६०० दिने गरेको छ । बाँकी खर्च भने प्रवचन गुठीले जुटाउने गरेको उहाँले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले प्रवचन पुनःसञ्चालन गर्न विशेष सहयोग गर्नुभएको प्रवचन गुठीले जनाएको छ । जयदेव पौडेलले सुरु गर्नुभएको हनुमानढोका दरबार क्षेत्रको नित्य प्रवचनलाई अर्जुनप्रसाद धिताल, मधुसुदन रिसाल, गोविन्द भट्टराईलगायत पण्डितले निरन्तरता दिँदै आउनुभएको गुठी संस्थानले जनाएको छ ।

प्रकाशित : २१ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६