वीरगञ्ज (पर्सा), २७ भदौः
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ । आज वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याउनुभयो । सहसंयोजक नेपालले भन्नुभयो, “संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ । जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन ।” उहाँले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछपिडएको क्षेत्रलगायत सिमान्तृकत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सहसंयोजक वर्तमान सरकारप्रति जनताको तीव्र आकाङ्क्षा भएकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो । यही भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्ने उहाँको भनाइ छ । नेपालले भन्नुभयो, “देश अहिले विपत्मा छ, हिमाली बाडीका कारण ठूलो जनधनीको क्षति भएको छ । खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउन सक्नुपर्छ ।” उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गर्नुभयो । —










प्रतिक्रिया