गण्डकी

अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा



बागलुङ, ३१ भदौ

खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्याइएको छ । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेस्थित अर्बाउदीका ३६ घरमा रु ६८ लाखभन्दा बढीको लागत घरघरमा खानेपानीको धारा जडान गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । गोर्खा वेल्फेयर ट्रष्टको रु ५८ लाख ५० हजार र स्थानीय उपभोक्ताको रु नौ लाख ७६ हजार गरी रु ६८ लाख २६ हजारको लागतमा ‘एक घर, एक धारा’ कार्यक्रममार्फत खानेपानी आयोजना निर्माण गरिएको हो । जिल्लाकै पहिलो घरबास गाउँका रूपमा परिचित त्यस गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीयवासी खुसी छन् । आयोजनाको मर्मतसम्भार कोषमा नगरपालिकाले रु दुई लाख र स्थानीय उपभोक्ताले रु ८३ हजार जम्मा गरेको उपप्रमुख खड्काले बताउनुभयो । गोर्खा वेल्फेयर ट्रष्टका प्रतिनिधि लीला पुन शेरचनले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रमणीय गाउँमा लामो समयदेखिको खानेपानी समस्या अब समाधान भएको बताउनुभयो । उपभोक्ता चन्द्रमती थापाले घरमै धारा आएपछि दैनिक जीवन सहज भएको बताउनुभयो । उहाँले हिउँद र वर्षा दुवै समयमा शुद्ध खानेपानीको व्यवस्था भएकाले धाराको पानी सिधैँ पिउन सकिने बताउनुभयो । आयोजनाअन्तर्गत तीनवटा इन्टेक, एक कलेक्सन च्याम्बर, एक डेलिभरी ट्याङ्की, एक पम्प हाउस, एक रिजर्भ ट्याङ्की, चार जडसन च्याम्बर र पाँचवटा तारबार निर्माण गरिएको छ । आयोजनामा दुई हजार ५८५ मिटर पाइप लाइन बिछ्याइएको उपभोक्ता तथा सरसफाइ समितिले जनाएको छ । पानीगैरा, गग्रेगरा र लोसे मूलको पानीलाई एकीकृत गरी आयोजना निर्माण गर्न गत वर्ष गोर्खा वेल्फेयर ट्रष्टसँग सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजना सम्पन्न भएपछि घरघरमा धारा पुगेको उपभोक्ता समितिका अध्यक्ष सचिन थापाले जानकारी दिनुभयो । –––

प्रकाशित : ३१ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६