जीवनशैली

सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा



खोटाङ, ६ असोजः

भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाइ केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाइ साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको लगानीमा निर्माण गरिएको भवनको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्वास्थ्य सेवा इकाइबाट सेवा प्रवाहको शुभारम्भ गर्नुभयो । भौगोलिक रुपमा ठूलो वडाका रुपमा रहेको सेखुवाका नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा इकाइ स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष राईले भौगोलिक विकटताका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताउनुभयो । “भौगोलिक अवस्था कठिन छ भन्दैमा नागरिकले स्वास्थ्य सेवा पाउन कठिन हुनुहुँदैन । राज्यले सेवा त्यहाँ पु¥याउनुपर्छ, जहाँ नागरिकलाई सेवाको सबैभन्दा बढी आवश्यकता छ”, उहाँले भन्नुभयो, “सेखुवामा स्वास्थ्य इकाइ स्थापना हुनु एउटा भवन थपिनु मात्र होइन । यहाँका नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने महत्वपूर्ण कदम हो ।” गाउँको विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिले मात्र प्रयास गरेर नपुग्ने उल्लेख गर्दै अध्यक्ष राईले नागरिकको सामूहिक सहभागिता र योगदान अपरिहार्य रहेको बताउनुभयो । “देश बनाउन भाषणले मात्र पुग्दैन, सबै नागरिक मिलेर काम गर्नुपर्छ । विकासको जिम्मेवारी सरकारको मात्र होइन, समाजका हरेक नागरिकको हो”, उहाँले भन्नुभयो, “हामीले जहाँबाट जे योगदान गर्न सक्छौँ, त्यहीँबाट सुरु गर्ने हो । कसैले श्रम दिन सक्छ, कसैले जग्गा दिन सक्छ, कसैले ज्ञान र सीप दिन सक्छ । यिनै सानासाना योगदान जोडिँदा गाउँको ठूलो विकास सम्भव हुन्छ ।” विशेषगरी साविक वडा नं १ र २ लगायत आसपासका नागरिकलाई लक्षित गरी स्थापना गरिएको स्वास्थ्य इकाइबाट स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछ । सामान्य स्वास्थ्य समस्या, प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक स्वास्थ्य सेवाका लागि अब स्थानीय नागरिकले टाढाको स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता हटेको वडाध्यक्ष हेमन राईले बताउनुभयो । स्वास्थ्य सेवा इकाइ स्थापनाका लागि जग्गा उपलब्ध गराउने अदमबहादुर राईको योगदानको गाउँपालिकाले उच्च सम्मान गरेको छ । कार्यक्रममा जग्गादाता राईका छोरा दिलकुमार राईलाई दोसल्ला ओढाएर सम्मान गरियो । सेखुवामा स्वास्थ्य इकाइ स्थापना भएसँगै विकट भूगोलमा पनि ‘नागरिक भएको ठाउँमै सेवा’ पु¥याउने स्थानीय सरकारको प्रयासले थप गति पाएको छ । —

प्रकाशित : ६ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६