ब्रेकिंग न्युज

टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान



काठमाडौँ ६ असोज

नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिनुभयो । टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ । यस्तै चितवनको मोहनपुर तथा गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको छ । यसैगरी कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन् । नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा सुधार आउने टेलिकमले जनाएको छ । दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ साइट थप गर्दै जाने टेलिकमको योजना छ । —

प्रकाशित : ६ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६