त्रिशूली (नुवाकोट), ९ असोज
भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् । बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी छ । खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो । टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आउनुभएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङले बताउनुभयो । उहाँका अनुसार खुला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या भएको छ । रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गर्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५, बाणाचौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन् । टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ताकपडा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाणाचौतारोमा बस्दै आउनुभएका दावामिङ्मार तामाङले बताउनुभयो । “टेन्टमा पानी पसेपछि सामान जोगाउनै समस्या भएको छ । जमिन हिलाम्मे बनेको छ भने चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई बढी समस्या भएको छ”, उहाँले भन्नुभयो । अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ । जिल्ला शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका विभिन्न पाँच स्थानमा बसोबास गरिरहेका प्रभावितको टेन्टमा त्रिपाल ओढाउने र जमिनबाट बगेको पानी टेन्टभित्र पस्न नदिन चारैतर्फबाट पानीको निकास बनाउने काममा स्वयंसेवक परिचालन गरिएको छ । “वर्षाका कारण प्रभावितको बसाइ थप कष्टकर बनेपछि टेन्टमा त्रिपाल ओढाउने र पानीको निकास बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आज साँझसम्म सबै स्थानमा रहेका प्रभावितको टेन्टमा त्रिपाल लगाउने काम सम्पन्न गर्ने लक्ष्य छ ।” निरन्तरको वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ । त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो । बाढीले पुरिएका भग्नावशेष हटाई सुरक्षित रहेका सामग्री निकाल्न प्रभावित परिवारलाई विदुर नगरपालिका तथा विभिन्न सङ्घसंस्थाले सहयोग गरिरहेका छन् । तर, निरन्तरको वर्षाले भग्नावशेष तथा आसपासको क्षेत्र हिलाम्मे भएपछि खोज तथा उद्धारका साथै सामग्री निकाल्ने काममा कठिनाइ भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । भोटेकोशी हुँदै त्रिशूलीको बाढीका कारण नुवाकोटमा दुई हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भई घरबारविहीन भएका छन् । भाडामा बस्ने र व्यवसाय गर्दै आएका परिवारसमेत थप हुँदा बाढीपछि जिल्लामा दुई हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्क छ । बाढीबाट विस्थापित परिवारमध्ये केहीले घर तथा बाढीले पुरिएका संरचनाबाट सामान निकाल्न सफल भए पनि धेरै परिवार अझै अस्थायी संरचना र राहत सामग्रीको भरमा बस्दै आएका छन् । निरन्तरको वर्षाले चिसो बढेपछि विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामीलाई समस्या बनाएको छ । बाढीपश्चात् अस्थायी संरचनामा बस्दै आएका परिवारको जनजीवन अहिलेको निरन्तरको वर्षाले थप प्रभावित बनाएको हो । —
Powered By
Orson Infotech









प्रतिक्रिया