सप्तरी, १ मङ्सिर
चिनियाँ दूतावासले बलान बिहुल गाउँपालिकामा शैक्षिक तथा स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको छ । गाउँपालिकामा चिनियाँ दूतावासका राजनीतिक तथा प्रेस विभाग प्रमुख युकियान चेङको उपस्थितिमा आज उक्त सामग्री हस्तान्तरण गरिएको हो । चिनियाँ दूतावासको ‘भाइबरेन्ट भिलेज’ कार्यक्रमअन्तर्गत गाउँपालिका–६ स्थित जागेश्वर गहराई जनता माध्यमिक विद्यालयलाई ११० सेट बेञ्च/डेस्क, विद्यालयका एक हजार १०० विद्यार्थीका लागि एक हजार १०० थान शैक्षिक सामग्री र एउटा वासिङ मेसिन हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक भोला यादवले जानकारी दिनुभयो । त्यसैगरी, गाउँपालिकाभित्र रहेका बर्थिङ सेन्टरका लागि १२ थान एयर कन्डिसनर (एसी) तथा वडा कार्यालयका लागि शुद्ध खानेपानी उपलब्ध गराउने प्लान्टसमेत सहयोग गरिएको बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताउनुभयो । दूतावासको सहयोगले गाउँपालिकाका विद्यालयमा शैक्षिक सुविधा विस्तार हुनुका साथै बर्थिङ सेन्टरको सेवा प्रवाह र स्थानीय तहमा स्वच्छ खानेपानीको पहुँच विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष यादवको संयोजनमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा मधेसी आयोगका पूर्वअध्यक्ष विजय दत्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति थियो । —









प्रतिक्रिया