कपिलवस्तु, मंसिर ११
लामो समयदेखि निर्माणाधीन बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाअन्तर्गत पहिलो चरणमा करिब १८ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको छ। पुल तथा कल्भर्ट निर्माणको कामले गति लिएसँगै वन क्षेत्रमा कालोपत्रेको प्रक्रिया अघि बढाइएको हो।
आयोजनाअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–बुद्धी वन क्षेत्रमा २ दशमलव ८ किलोमिटर, गोरुसिङ्गे–बनगाई क्षेत्रमा ७ दशमलव ५ किलोमिटर र पिपरा वन क्षेत्रमा २ दशमलव ७ किलोमिटर सडक कालोपत्रे गरिनेछ। त्यस्तै, रुपन्देहीको सालझण्डी र फायरलाइन वन क्षेत्रमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने तयारी छ।
हाल वन क्षेत्रमा सडकको बेस निर्माण भइरहेको छ। पहिलो तहको काम सम्पन्न भइसकेको र दोस्रो तह बिछ्याउने तयारी भइरहेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक आयोजना कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताउनुभयो। दोस्रो तहको काम पूरा भएपछि बुद्धी वन क्षेत्रबाट कालोपत्रे सुरु गरिने उहाँले जानकारी दिनुभयो।
आयोजना कार्यालयका अनुसार हालसम्म समग्र भौतिक प्रगति करिब ३० प्रतिशत पुगेको छ। कल्भर्ट निर्माण ६५ प्रतिशत र पुल निर्माण ७० प्रतिशत सम्पन्न भएको छ। कपिलवस्तु र रुपन्देहीका विभिन्न खोलामा पुल निर्माणको कामसमेत अघि बढेको छ।
तर, निर्माण सामग्रीको अभाव र पूर्वाधार व्यवस्थापनमा देखिएका समस्याले आयोजनाको गति अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। रुपन्देही क्षेत्रमा नदीजन्य निर्माण सामग्रीको अभाव तथा कपिलवस्तुका बजार क्षेत्रमा विद्युत्का पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भइरहेको छ।

यसअघि बिटुमिनको मूल्यवृद्धिका कारण रोकिएको कालोपत्रेको काम सरकारले अतिरिक्त लागत शोधभर्ना गर्ने निर्णय गरेपछि पुनः अघि बढाउने तयारी गरिएको हो।
सडक कालोपत्रे सुरु भएसँगै बुटवल–गोरुसिङ्गे सडक विस्तारले थप गति लिने अपेक्षा गरिएको छ। लामो समयदेखि निर्माणका कारण यात्रुले भोग्दै आएको धुलो, हिलो, सवारी जाम र आवागमनको असहजता कम हुने विश्वास गरिएको छ।
पूर्व–पश्चिम राजमार्गको महत्त्वपूर्ण खण्डका रूपमा रहेको बुटवल–गोरुसिङ्गे सडक विस्तार समयमै सम्पन्न हुन सके यसले यात्रालाई सहज बनाउनुका साथै कपिलवस्तु र रुपन्देहीको व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पु¥याउनेछ।









प्रतिक्रिया