ब्रेकिंग न्युज

महाराजगञ्जमा २६ करोड ५३ लाखको सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिकमा सबैभन्दा बढी खर्च



कपिलवस्तु ११ मंसिर


महाराजगञ्ज नगरपालिकाले गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता तथा गम्भीर प्रकृतिका रोगबाट पीडित नागरिकको उपचार खर्चमा २६ करोड ५३ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । नगरकार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नगरपालिकाले कुल १० हजार ९०८ जना लाभग्राहीलाई २६ करोड ५३ लाख ४८ हजार १३० रुपैयाँ उपलब्ध गराएको हो ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरित रकमको सबैभन्दा ठूलो हिस्सा ज्येष्ठ नागरिक भत्तामा खर्च भएको छ । गत आवमा ३ हजार ७३७ जना ज्येष्ठ नागरिकलाई १८ करोड ६ लाख १३ हजार ३४९ रुपैयाँ वितरण गरिएको छ । यो कुल वितरण रकमको करिब ६८ प्रतिशत हो । यसले नगरपालिकाको सामाजिक सुरक्षा बजेटमा ज्येष्ठ नागरिकको हिस्सा सबैभन्दा बढी रहेको देखाउँछ ।
लाभग्राही संख्याका आधारमा भने बालबालिकाले पाउने पोषण भत्ता पहिलो स्थानमा छ । नगरपालिकाले ५ हजार ५४० जना बालबालिकालाई ३ करोड ४१ लाख ३६ हजार १६० रुपैयाँ बाल पोषण भत्ताबापत वितरण गरेको छ । कुल लाभग्राही मध्ये आधाभन्दा बढी बालबालिका रहनुले बाल संरक्षण र पोषण कार्यक्रमको सामाजिक पहुँच व्यापक रहेको देखाउँछ ।
त्यसैगरी, असहाय एकल महिलातर्फ ८२९ जनालाई २ करोड ५३ लाख ८४ हजार १४३ रुपैयाँ वितरण गरिएको छ । अपाङ्गता भएका ४१० जना नागरिकले १ करोड २३ लाख ३० हजार ९०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । सामाजिक समावेशीकरण तथा संरक्षणका दृष्टिले दलित र लोपोन्मुख समुदायलाई समेत भत्ता उपलब्ध गराइएको छ । विवरण अनुसार ३३१ जना दलित लाभग्राहीलाई ९८ लाख ९० हजार ४८ रुपैयाँ र ३५ जना लोपोन्मुख जातिका लाभग्राहीलाई १६ लाख ३१ हजार ९१० रुपैयाँ वितरण गरिएको छ ।
सामाजिक सुरक्षा भत्तासँगै नगरपालिकाले गम्भीर प्रकृतिका रोगबाट पीडित नागरिकलाई उपचार खर्च उपलब्ध गराएर स्वास्थ्य सुरक्षामा समेत आर्थिक सहयोग गरेको छ । मासिक पाँच हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने कार्यक्रम अन्तर्गत २३ जना क्यान्सर पीडित र तीन जना नियमित डायलासिस गराइरहेका बिरामी गरी २६ जनालाई कुल १३ लाख ५५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
तथ्यांकले महाराजगञ्ज नगरपालिकाको सामाजिक सुरक्षा कार्यक्रम ज्येष्ठ नागरिकको सम्मान, बाल बालिकाको पोषण, एकल महिलाको संरक्षण, अपाङ्गता भएका नागरिकको सामाजिक सुरक्षा तथा गम्भीर रोगबाट पीडितको उपचार सहयोगमा केन्द्रित रहेको देखाउँछ । विशेषगरी बाल पोषण भत्ता प्राप्त गर्नेको संख्या उच्च हुनु र ज्येष्ठ नागरिक भत्तामा ठूलो बजेट परिचालन हुनुले नगरभित्र सामाजिक संरक्षणको आवश्यकता र यसको बजेटीय प्राथमिकतालाई उजागर गरेको छ ।
सामाजिक सुरक्षा भत्ताले आर्थिक तथा सामाजिक रूपमा संवेदनशील अवस्थामा रहेका नागरिकको दैनिक जीवनयापनमा राहत पु¥याउनुका साथै राज्यप्रतिको सामाजिक दायित्व समेत पूरा गर्न सहयोग गर्छ । तर, रकम वितरणसँगै वास्तविक लाभग्राहीको पहिचान, नियमित अद्यावधिक, पारदर्शी वितरण प्रणाली र लक्षित वर्गले समयमै सुविधा प्राप्त गरे–नगरेको अनुगमन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
यसर्थ, महाराजगञ्ज नगरपालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रमलाई भत्ता वितरणमा मात्र सीमित नराखी ज्येष्ठ नागरिकको सम्मानजनक जीवन, बालबालिकाको पोषण सुधार, अपाङ्गता भएका व्यक्तिको पहुँच र विपन्न परिवारको सामाजिक संरक्षणसँग जोडेर प्रभावकारी बनाउनु आवश्यक देखिन्छ । सामाजिक सुरक्षामा भएको लगानीको वास्तविक उपलब्धि लाभग्राहीको जीवनस्तरमा आएको सुधारबाट मापन हुनुपर्छ ।

प्रकाशित : १२ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६