बागमती

कोरोनाले ओझेल पारेको दादुरा–रुबेला खोप कार्यक्रम सुरु



 धादिङ २० बैशाख । कोरोना संक्रमणले देश लकडाउन भइरहँदा धादिङका विकट चेपाङ बस्तीमा फैलिएको दादुरा–रुबेला प्रकोप ओझेलमा परेको छ । दुई महिनायता फैलिएको प्रकोपले दुई जनाको ज्यान गइसकेको छ भने डेढ सयजति थलिएका छन् ।फागुन ६ मा बेनीघाट–६ बुमराङमा ४ बालबालिकामा दादुरा–रुबेला पुष्टि भएको थियो । त्यस्तै छिमेकी गजुरी गाउँपालिकाका ३ र ४ नम्बर वडामा यसै साता संक्रमण देखिएको छ ।

        ६ महिने शिशुदेखि ३४ वर्षीय युवकसम्म प्रभावित छन् ।प्रकोप रोक्न बुधबारदेखि बल्ल खोप कार्यक्रम सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बेनीघाट–रोराङ र गजुरी गाउँपालिकामा पुन दादुरा रुबेला खोप कार्यक्रम सञ्चालन गरेको हो । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्ष्यित खोप कार्यक्रम वैशाख २३ सम्म जारी रहने स्वास्थ्य कार्यालयका खोप अधिकृत श्याम पोखरेलले बताए । बेनीघाटमा १३ हजार र गजुरीमा ८ हजार ७ सय ७९ जनालाई खोपसँगै जुका र भिटामिन ए क्याप्सुल पनि दिइनेछ ।

दादुराले वडा नं ६ की २९ महिने बालिका अनिशा र वडा नं ४ का आठमहिने शिशु सुशान्त चेपाङको मृत्यु भएको बेनीघाट गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताए ।सबैभन्दा बढी तार्केटार, बुङपुङ, भुमेडाँडा, वुमराङ, सोलडाँडा, रोतेस, रुदिङ, जरुङमा प्रकोप फैलिएको उनले जानकारी दिए । २०७४ मंसिर १६ गते धादिङलाई आधारभूत खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । यसका लागि सरकारले तत्कालीन ५५ गाविसलाई ५० हजारका दरले बजेट पठाएको थियो । गैससले पनि करोडौं लगानी गरेका थिए । तर, विकट चेपाङ बस्तीका बालबालिकाले अनिवार्य लगाउनुपर्ने खोप नै पाएनन् ।

गत १७ गते छोरी अनिशालाई गुमाएकी सोल्टीमायाले भनिन्, ‘हाम्रा आमाले पनि कुनै सुई लगाएनन्, मैले पनि लगाइनँ, छोरीहरूलाई पनि लगाएन । ३० वर्षीया सोल्टीमाया ६ सन्तानकी आमा हुन् । छोरीहरू १४ वर्षीया अनिता र ७ वर्षीया कविता पनि दादुराले ग्रस्त छन् ।‘खोप नलगाएकै कारण हरेक वर्ष यस भेगमा दादुरा फैलिन्छ, विकट बस्तीमा शिशुहरूको मृत्यु हुन्छ, कतै अत्तोपत्तो हुँदैन,’ स्थानीय शिक्षक तिलक चेपाङले भने ।

                   जिल्लामा सबैभन्दा बढी चेपाङ बेनीघाटमै छन् । वडा नं ६ का ५ सय घरधुरीमध्ये साढे तीन सयजति चेपाङकै रहेको वडाध्यक्ष देवकृष्ण आलेले वताए । ‘चेपाङ बस्तीमा हालसम्म कुनै खोपसेवा सञ्चालन नगरिएकाले हरेक वर्ष दादुरालगायत महामारी भइरहन्छ,’ उनले भने ।बेनीघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले दादुरा फैलिएपछि मात्रै करिब २ सय जनालाई खोप दिइएको बताए । लकडाउन सकिएपछि घुम्ती शिविर सञ्चालन गरेर छुटेका ५ वर्षमुनिका बालबालिकालाई आधारभूत खोपसेवा दिइने उनको भनाइ छ ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६