चितवन, २४ बैशाख । गैँडाकोट नगरपालिकाभित्र जमिन बाँझो राख्न नपाइने भएको छ । बाँझो जमिनमा आफूले खेती नगरेमा खेती गर्न चाहनेका लागि सो जमिन नगरपालिकामार्फत मल, बीउसहित उपलब्ध गराइने भएको छ । नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जमिन हुनेले बाँझो राख्ने र नहुनेले खेती गर्न नपाउने भएपछि नयाँ निर्णय गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी जग्गाधनीलाई सार्वजनिक सूचना जारी गरेर जानकारी गराउँछौँ । खेती नगरेमा स्थानीयवासीलाई सामूहिक खेती गर्न उत्प्रेरित गर्छौँ ।
नगरपालिकाले आफ्नो क्षेत्रलाई कृषिको नमूना क्षेत्र बनाउन सिँचाइका लागि बोरिङ खन्ने काम गरिरहेको छ । पौडेलले सिँचाइ, बीउ, मल र प्राविधिक सहयोग गरेर बाँझो जग्गा हराभरा बनाइ उत्पादन बढाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । जुन ठाउँमा जे फल्छ, त्यसैलाई प्राथमिकता दिइने उहाँको भनाइ छ । गैँडाकोट नगरपालिकामा १८ वडा रहेका छन् । हाल नगरपालिकाको जनसङ्ख्या ६५ हजार रहेको छ ।
प्रतिक्रिया