माडी,६ जेठ । चितवनको माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ । माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा रु एक हजार जरिवाना गर्ने जनाएको छ । कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने जनाएको छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले युवालाई बेरोजगार हुन नदिनका लागि खेतीयोग्य जमीन बाँझो राख्न नदिन लागिएको बताउनुभयो । कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्थासमेत गरेको छ । माछापालनका पकेट क्षेत्रका रुपमा रहेको माडी नगरपालिकामा माछापालनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु चार करोड अनुदानको व्यवस्थासमेत गरेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायले भन्नुभयो, “कम्तीमा मूलबाली लगाउनुपर्छ ।” साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै उहाँले जग्गा बाँझो रहे कारवाही हुने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र खेतीयोग्य जग्गा खाली हुन नदिन कडाइ गर्न खोजिएको हो । बिघौँ जग्गा किनेर खाली छोड्ने गरेको पाइएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारवाही अभियान शुरु गर्न लागेको हो । कृषि उत्पादन गर्न ती जग्गा स्थानीयवासीलाई कमाउन दिन प्रेरितसमेत गरिनेछ । माडीमा हाल ४३ हजार ३६५ जनसङ्ख्या रहेको छ । (रासस)
प्रतिक्रिया