काठमाण्डौ, १० पुष । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताउनु भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने बताउनु भएको हो ।
उहाँले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई पनि सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने सभापति देउवाको योजना छ । त्यस अवसरमा उहाँले आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
‘भोलिका दिनमा हाम्रो लागि ठूलो चुनौती पनि छ । स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ । हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नुछ । म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछुु सभापति देउवाले भन्नु भयो,ुमहाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलब छैन । म सबैको सभापति हुँ । मेरो जिम्मा ठूलो छ । त्यसकारण सबैलाई समावेश गरेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु ।
सभापति देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने गरी निर्वाचन सम्पन्न गराएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पनि धन्यवाद दिनु भयो । उहाँले महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई पनि ज्ञापन गर्नु भयो । त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेस पूर्ण प्रजातान्त्रिक पार्टी हो भन्ने कुरा पनि महाधिवेशनमा भएको निर्वाचनले पुष्टि गरि दिएको स्मरण गराउनु भयो ।
प्रतिक्रिया