चितवन, २५ पुष । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताउनुभएको छ । मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्याङ्कन गरिसकेपछि रङ्गशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताउनुभएको हो ।
आज आइतवार हामीसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड रुपैयाँ ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुसारको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रङ्गशालाका लागि काम अघि बढाउने बताउनुभयो ।
कुराकानीमा मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रङ्गशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन सङ्घीय सरकारलाई आग्रह गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । हुन त हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र स्रोत जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो । महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले स्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौँ । राम्रो सहयोग जुटेको हो । आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो । लगभग १० करोड रुपैयाँ बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराइएको हो । महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ । उहाँहरूले १७ करोड रुपैयाँ ऋण लागिसक्यो, गर्न सक्ने स्थिति भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन । उहाँहरूले हामीले स्रोत जुटाउन सकेनौँ भन्नुभयो, त्यस कारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरूले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेस गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि सङ्घीय सरकारलाई आग्रह गर्छौँ । सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ । सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ ।’
फरक प्रसङ्गमा मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु रहेको दाबी गर्नुभयो । उहाँले देश शान्ति प्रक्रियायता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताउनुभयो । उहाँले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताउनुभयो । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया