काठमाण्डौ, २७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । आज मङ्गलवार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वीजयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।
विक्रम सम्वत् १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ ।
वि.सं. १७७९–१८३१० शाहवंशीय राजा पृथ्वीनारायण शाहले स–साना राज्यमा बाँडिएका बाइसे तथा चौबीसे राज्यलाई एकत्रित गरी एउटै देशको सृजना गर्नुभएको थियो । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।
नेपालमा २००७ सालको क्रान्तिपछि नेपालमा आएको प्रजातन्त्रपछि योगी नरहरिनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया सुरु गर्नुभएको थियो ।
पृथ्वीनारायण शाहले स–साना क्षेत्र भीरकोट, कास्की, लम्जुङ गोरखा० मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको थियो । पृथ्वीनारायण शाहले सुरु गर्नुभएको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो ।
प्रतिक्रिया