प्रदेश

माटोका भाँडा बनाउँदै, पुर्ख्यौली पेसा चिनाउँदै



बाँके, ०१ मंसिर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियामा रहेको मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले ५० नाघिसक्नुभएका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउनुहुन्छ । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन शुरु गर्नुभएका उहाँले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताउनुभयो । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उहाँ यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउनुहुन्छ ।

‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु’, अमिनले विगत सम्झिँदै भन्नुभयो ।

बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउनुहुन्छ । ‘जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु’, उहाँले भन्नुभयो, ‘माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकाले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।’

अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दशैँ तिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा १५–१६ हजार रुपैयाँसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा पाँच–छ हजार रुपैयाँ आम्दानी भएको अमिनले बताउनुभयो । ‘यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ रु’, निराश हुँदै उहाँले यस वर्ष दशैँ तिहारमा भएको घाटाको कथा सुनाउनुभयो ।

अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उहाँले तीन वटा घोडा पाल्नुभएको छ । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउनुहुन्छ । ‘सात जनाको परिवारसँगै तीन वटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ’, उहाँले भन्नुभयो, ‘यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।’

अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आउनुभएको छ । कसगर भाँडा बनाउन सासूबाट सिकेको बताउनुहुन्छ । नेपालगञ्ज उपमहागनर पालिका–५ को मसानघाट टोलकी उहाँले आफूसँगै दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाउनुभएको छ ।

पुर्ख्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्नुहुन्छ । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उहाँको भनाइ । गएको वर्षको दशैँ तिहारमा १३ हजार रुपैयाँको व्यापार गर्नुभएकी सुफियाले यसपालि १० हजार रुपैयाँको भाँडा बेच्नुभयो । यस वर्ष पाँच हजार रुपैयाँ नाफा भएको उहाँको भनाइ छ । अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउनुहुन्छ ।

‘हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो । तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ’, उहाँले भन्नुभयो, ‘आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ ।’ सुफियाले यस वर्षको दशैँ तिहारका लागि एक ट्रली माटोका भाँडा बनाउनुभएको थियो । तर उहाँले सोचेजस्तो नाफा हुन सकेन ।

बुलबुलियाको मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झन्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुर्ख्यौली पेसाका रूपमा चिनाउँदै आइरहेका छन् । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन् ।

अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सात जना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ । उमेरले झन्डै चार दशक नाघिसक्नुभएका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आइरहेका छन् । पप्पुको सात जनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गर्नुहुन्छ । तर माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउने उहाँको भनाइ छ ।

पप्पुले भन्नुभयो, ‘फुर्सदको समयमा छोराले ज्याला मजदुरी गर्ने गर्छ तर जब माटो मुछेर भाँडा पकाउनुपर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्यालामजदुरीको काम छाडेर हामीसँगै भाँडा बनाउन सहयोग गर्छ ।’ एक ट्रली माटोको मूल्य चार हजार तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि माटोको मूल्य बढेर साढे चार हजार रुपैयाँ तिरेको पप्पु, मोहम्मद र सुफियाले बताउनुभयो । उहाँहरूका अनुसार माटो बिक्री गर्ने साहुले यसै वर्षदेखि मूल्य बढाएका हुन् ।

पहिला मनग्य आम्दानी हुँदै आएको यो पेसा कोभिड–१९ पछि भने ओरोलो लाग्दै गएको कसगरहरूको भनाइ छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीमा रहेको कट्लिया गाउँबाट माटो ल्याउने गर्छन् ।

काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । ‘पहिला–पहिला गोबरको गुइँठामा भाँडा पकाइन्थ्यो तर अहिले पशुचौपाया पाल्न छाडेकाले गोबर पनि पाउन छाडेको छ’, सुफियाले भन्नुभयो, ‘हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा भाँडा पकाएर तयार गर्ने गर्छौँ ।’

एक क्विन्टल दाउरालाई एक हजार रुपैयाँ पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुई पटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले कसगरहरू प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । दुईदेखि दुई सय ५० रुपैयाँसम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन् । माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउनु हुँदैन । त्यो चार महिनामा मात्रै उनीहरू दैनिकीरूपमा ज्यालामजदुरीको काम गरेर साँझ–बिहानको छाकको जोहो गर्ने गर्छन् ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६