भैरहवा ५ मंसिर । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन नारासहित भैरहवामा हुने छैठौ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मंसिर ६ देखि १८ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी संगठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत काम पूरा भएको बताउनुभयो ।महोत्सवको आकर्षणको रुपमा मुख्यद्वारलाई हवाइजहाजको स्वरुपमा निर्माण गरिएको छ । उहाँले लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै सरकारबाट निर्माण भएको अरबौ रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल ब्यवसायहरु धरासायी भएका बेला सरकारलाई दबाब दिनेगरी विमानको आकृति र स्थलका रुपमा महोत्सवस्थल बनाएर विरोध देखाउन खोजिएको बताउनुभयो ।
स्थानीय उत्पादनको प्रवर्धन गर्ने, सिमाक्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्य समेत मेलाले लिएको छ । मेला उदघाटनअघि बुधबार विहान जनचेतनामुलक ¥याली निकालिने छ । यसैगरी अनुगमन समिति गठन गरेर मेलामा राखिने स्टलको गुणस्तरप्रति सचेत गराइने छ । कार्यक्रममा संगठनका सल्लाहकार तथा सांस्कृतिक संयोजक नारायण भण्डारीले मेला महोत्सवलाई ठेक्का दिने प्रवृत्ति रोक्न जरुरी रहेको बताउनुभयो ।कार्यक्रममा संगठनका महासचिव लक्ष्मी अधिकारीले तीन लाख दर्शकहरुले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपियाँको कारोबार हुने आयोजकको लक्ष्य छ । करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टलहरु रहनेछन् । कार्यक्रमको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट हुनेछ ।
५ मंसिर २०८०, मंगलबार








प्रतिक्रिया