कृषि

दाङमा धान उत्पादन बढ्यो



देउखुरी, ०६ मंसिर । दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका–६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताए । “यसवर्ष ब्याड राखेको समयमै रोप्ने वातावरण बन्यो । पानीको समस्या नभएकाले रोपाइँ समयमा भएको थियो”, उनले भने, “हाइब्रिड धान रोपेका थियौँ । त्यसैले पनि धान उत्पादनमा वृद्धि भएको हो ।”

घोराही–५ धर्नाका मनोज चौधरीले ‘युएस तीन सय १२’ जातको धान लगाउनु भएको थियो । “गतवर्ष १५ कट्ठा खेतमा ६० मुरी धान फलेकामा यसवर्ष सोही जमिनमा ७० मुरी धान फलेको छ”, उनले भने, “गतवर्ष उत्पादन भएको धाएर सकिएको थियो । यसवर्ष पाँच क्विन्टल बिक्री गरेको छु । समयमा रोपाइँ गरेकाले धान उत्पादन बढेको हो ।” रोपाइँ गरेदेखि पसाउँदासम्म धानलाई आवश्यक मात्रामा पानी पुगेकाले उत्पादन बढेकोे मनोजको भनाइ थियो ।

हाईब्रिड जातको बीउ, समयमा पानी पर्नु, मल समयमा पाउनुलगायत कारणले उत्पादन बढेको केन्द्रले जनाएको छ । जिल्लामा यस वर्ष ३५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा नौ दशमलव ७५ प्रतिशतले उत्पादनमा वृद्धि आएको केन्द्रका कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए । उनका अनुसार यस वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ । रासस

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६