चितवन, भदौ १-
चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ ।
यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । शुक्रबार राप्ती नगरपालिका–१ मा देखिएको अन्दाजी चार वर्षको भाले बाघलाई आइतबार बिहान डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । उहाँका अनुसार अहिले निकुञ्जले समस्या ग्रस्त बाघहरु नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको छ । हाल निकुञ्जका खोरमा सात वटा बाघ रहेका छन् ।
निकुञ्जमा समस्या ग्रस्त बाघलाई राख्नका लागि खोरको अभावले पर्सा पठाउनु परेको हो । अहिले निकुञ्जको मुख्यालय कसरामा तीन वटा, देवनगरमा दुई वटा र सौराहामा दुई वटा बाघ रहेका छन् । निकुञ्जका खोरमा रहेका बाघमा पाँच वटा भाले र दुई वटा पोथी रहेका छन् ।
निकुञ्जमा खोरको अभावले समस्या ग्रस्त वाघ व्यवस्थापनमा चुनौती थपिएको उहाँले बताउनुभयो । निकुञ्जको खोरमा रहेका बाघमध्ये एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रबाट समस्या ग्रस्त भएपछि नियन्त्रणमा लिइएको थियो । पछिल्लो गणनाअनुसार यस निकुञ्जमा १४५ वटा बाघ रहेका छन् । यो निकुञ्ज सबैभन्दा धेरै बाघ भएको निकुञ्ज हो ।
निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएमा ठाउँको अभाव हुने उहाँले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जभित्रका खोरमा बाघ थपिँदा आहारा पुर्याउनसमेत कठिन बन्दै आएको छ । रासस










प्रतिक्रिया