देश

विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड



काठमाडौँ, २ भदौ

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सबै दूरसञ्चार सेवा प्रदायकले कानुनी र नियामकीय व्यवस्थाअनुसार स्वच्छ तथा व्यावसायिक ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ । एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिले आज सञ्चार मन्त्रालयमा गरेको भेटका क्रममा उहाँले दूरसञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र स्वस्थ प्रतिस्पर्धामा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सञ्चार मन्त्रालयका लागि सबै सेवा प्रदायक समान रहेको उल्लेख गर्नुहुँदै कानुनअनुसार व्यावसायिक गतिविधि सञ्चालन गर्ने कम्पनीलाई सरकारले आवश्यक सहयोग गर्ने स्पष्ट पार्नुभयो । “एनसेलले स्वच्छ प्रतिस्पर्धा गर्ने र विगतमा भएका कमिकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आउनुपर्छ । कानुनअनुसार काम गर्ने कम्पनीलाई सरकारले समान व्यवहार गर्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो । उहाँले विगतमा भएका एनसेलका विवाद र कानुनी प्रश्नको पारदर्शी ढङ्गले छानबिन हुने स्पष्ट पार्नुहुँदै आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित कम्पनीले पनि आफ्नो कार्यशैली सुधार गर्नुपर्ने बताउनुभयो । दूरसञ्चार क्षेत्रमा स्वच्छ र स्वस्थ पारिस्थितिक प्रणाली (इकोसिस्टम) निर्माण गर्न सरकार तथा नियामक निकाय तयार रहेको र त्यसका लागि सेवा प्रदायक संस्थाहरूले पनि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ । मन्त्रालयका सहसचिवद्वय उदयबहादुर रानामगर र गौरव गिरी तथा मन्त्रालयको कानुन शाखा उपसचिव राजेशकुमार थापा सहभागी रहनु भएको सो भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रलाई स्वच्छ र व्यावसायिक बनाउन विगतका गल्ती सच्याउने तथा भविष्यमा गल्ती हुन नदिने जिम्मेवारी सरकार तथा नियामकको रहेको बताउनुभयो । साथै, एनसेलका विगतका विवादको निरुपण तथा लाइसेन्स अवधि सकिएपछिको स्वामित्व हस्तान्तरणको काम विद्यमान विधि र कानुनभित्रै रहेर सम्पादन हुने स्पष्ट पार्नुभयो । छलफलमा एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले कम्पनीको सेवा र व्यावसायिक प्रणाली सुधारका लागि विभिन्न काम अघि बढाएको जानकारी गराउनुभयो । सब्स्क्रिप्सन मोडल सुधार र ‘पे एज यु गो’ प्रणाली लागू गर्ने तथा फाइभजी सेवा सुरु गर्ने सरकारी पहललाई पनि एनसेलले सकारात्मक रूपमा लिएको उहाँको भनाइ थियो । —

प्रकाशित : २ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६