कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह



नारायणगढ (चितवन), ३ भदौः

चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् । नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् । अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाट्टफुट्ट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धानबालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । “अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ”, कृषि अधिकृत श्रेष्ठले भन्नुभयो । फेद डढुवा राइजोक्टोनिया सोलानी नामक ढुसीका कारण लाग्ने गर्दछ । रोग लागेमा सुरुमा पातको फेदमा अन्डाकार खैरो–हरियो थोप्ला देखिने र प्रकोप बढ्दै गएपछि ती थोप्ला फैलिँदै गई सिङ्गो बोट नै डढेको जस्तो देखिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार रोग माटोबाट समेत सर्ने भएकाले धान रोप्नुअघि नगरपालिकाबाट अनुदानमा उपलब्ध हुने जैविक विषादी प्रयोग गरी माटो उपचार गर्न सकिन्छ । बीउ उपचार गर्दा कार्बेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउका दरले प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । धान बाक्लो रोप्न नहुने, युरिया मलमात्र बढी प्रयोग नगरी सन्तुलित रूपमा मलखाद प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । सुरुआती अवस्थामै रोगको पहिचान गरी व्यवस्थापन गर्न सके प्रकोप फैलिनबाट रोक्न सकिने उहाँले बताउनुभयो । रोगको जोखिम बढेमा एजोक्सिस्ट्रोबिन १८.२ प्रतिशत र डाइफेनोकोनाजोल ११.४ प्रतिशतको मिश्रण एक मिलीलिटर प्रतिलिटर पानीका दरले वा भ्यालिडामाइसिन तीन मिलीलिटर प्रतिलिटर पानीका दरले मिसाएर छर्कन सकिने कृषि शाखाले जनाएको छ । खैरहनीमा बर्खे धानको खेती राम्रो हुने भएकाले अहिले धानमा बाला निस्कने समय सुरु भएको छ । फेद डढुवा रोग हरेक वर्ष धानबालीमा देखिने गरेकाले यस वर्ष पनि समयमै सावधानी अपनाउन किसानलाई आग्रह गरिएको हो । यसैगरी, धानबालीमा मरुवा (ब्लास्ट) रोगको जोखिमसमेत रहेकाले किसानलाई फेद डढुवा र मरुवा दुवै रोगको नियमित निगरानी गर्न कृषि शाखाले आग्रह गरेको छ । यस वर्ष चैते धानमा मरुवा रोगका कारण क्षति भएकाले बर्खे धानमा समयमै सावधानी अपनाउनुपर्ने कृषि अधिकृत श्रेष्ठले बताउनुभयो । खैरहनी नगरपालिकामा बर्खे धान तीन हजार ९३९ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ । धानखेतीका लागि अनुकूल क्षेत्र मानिने खैरहनीमा अहिले धानमा बाला निस्कने समय भएकाले रोगको जोखिमसमेत बढ्ने गर्दछ ।

प्रकाशित : ३ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६