कपिलवस्तु, भदौ १
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १२औँ साधारणसभाले जिल्लाको पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक, जिम्मेवार, तथ्यपरक र नागरिकमुखी बनाउँदै पत्रकारको हकहित तथा प्रेस स्वतन्त्रताको संरक्षणमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सोमबार तौलिहवामा सम्पन्न साधारणसभाले जिल्लाको पत्रकारिता क्षेत्रमा देखिएका चुनौती, पत्रकारको व्यावसायिक सुरक्षा, सञ्चार माध्यमको संस्थागत विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्थानीय मुद्दाको प्रभावकारी उठानका विषयमा समीक्षा गर्दै आगामी कार्यदिशा समेत तय गरेको हो।

साधारणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले पत्रकारिता क्षेत्रको व्यावसायिकता, पत्रकारको जिम्मेवारी र अधिकारका विषयमा महासंघ निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले पत्रकारिता समाजको सूचनाको आधार भएकाले पत्रकारले सत्य, तथ्य र जनहितलाई केन्द्रमा राखेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
महासचिव दाहालले असल पत्रकारको खोजी जहाँ पनि हुने उल्लेख गर्दै पत्रकारिता पेसामा इमानदारी, तथ्यपरकता र व्यावसायिक दक्षता महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बदलिँदो सञ्चार प्रविधि र सूचना प्रवाहको तीव्रतासँगै पत्रकारले आफ्नो क्षमता निरन्तर विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
साधारणसभामा सहभागी जनप्रतिनिधि तथा प्रशासनिक अधिकारीहरूले स्थानीय तहको विकास, सुशासन, पारदर्शिता र नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले स्थानीय सरकारका योजना, बजेट र निर्णयलाई नागरिक समक्ष पु¥याउन तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउन सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। विकास निर्माणका गतिविधिसँगै स्थानीय तहका कमजोरी, नागरिकका समस्या र सार्वजनिक सेवाका विषयमा समेत पत्रकारिताले निरन्तर खबरदारी गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
पत्रकारिताले आलोचनालाई मात्र केन्द्रमा नराखी सकारात्मक अभ्यास, सफल कार्यक्रम र नागरिकका सिर्जनात्मक प्रयासलाई पनि प्राथमिकताका साथ सार्वजनिक गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए। तथ्यमा आधारित, सन्तुलित र निष्पक्ष समाचारले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने उनीहरूको भनाइ थियो।
साधारणसभामा सहभागी पत्रकारहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका आर्थिक, व्यावसायिक तथा सुरक्षा चुनौतीबारे धारणा राखेका थिए। सञ्चार माध्यमको आर्थिक अवस्था कमजोर हुँदै जाँदा श्रमजीवी पत्रकारको पेसागत सुरक्षासमेत प्रभावित भइरहेको भन्दै महासंघले यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने माग गरिएको थियो।
पत्रकारको क्षमता अभिवृद्धिका लागि नियमित तालिम, खोज पत्रकारिता प्रवद्र्धन, डिजिटल पत्रकारिता सम्बन्धी सीप विकास तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
सञ्चारमाध्यमको संख्या बढे पनि आर्थिक तथा संस्थागत रूपमा बलियो सञ्चार संस्था निर्माण गर्न नसक्दा पत्रकारिताको गुणस्तरमा चुनौती थपिएको भन्दै सहभागीहरूले महासंघले पत्रकार र सञ्चार संस्थाबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै पत्रकारमाथि हुने धम्की, दबाब तथा हस्तक्षेपको विरोध गर्दै पत्रकारलाई निर्भीक भएर समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न राज्य, स्थानीय तह र राजनीतिक दलसमेत जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरिएको थियो।
साधारणसभाले कपिलवस्तुको पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाको समीक्षा गर्दै आगामी दिनमा स्थानीय मुद्दालाई थप प्राथमिकताका साथ उठान गर्ने निर्णय गरेको छ।
जिल्लाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन, वन तथा वातावरण, सामाजिक समावेशीकरण, सुशासन र नागरिक सेवासँग सम्बन्धित विषयलाई पत्रकारिताको प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको थियो।
स्थानीय तहमा हुने विकास गतिविधिको प्रभावकारिता, सार्वजनिक खर्चको पारदर्शिता तथा नागरिकले पाउने सेवाको अवस्थाबारे निरन्तर समाचार र खोजमूलक सामग्री प्रकाशन आवश्यक रहेको सहभागी पत्रकारहरूले बताएका थिए।
साधारणसभाले पत्रकारिता सूचना दिने माध्यम मात्र नभई समाजको समस्यालाई बहसमा ल्याउने, जिम्मेवार निकायलाई जवाफदेही बनाउने र सकारात्मक परिवर्तनका लागि वातावरण तयार गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खगप्रसाद चापागाईंले स्वागत गर्नुभएको थियो। शाखा सचिव सनि उल्लाह धोबीले कार्यक्रम सञ्चालन गर्दै सांगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै कोषाध्यक्ष मोहन बेल्बासेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभाले प्रस्तुत सबै प्रतिवेदनमाथि छलफल गरी आवश्यक सुझावसहित पारित गरेको छ।
उत्कृष्ट पत्रकारलाई सम्मान
साधारणसभाको अवसरमा उत्कृष्ट पत्रकारितातर्फ योगदान पु¥याउने पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट पत्रकारिताका लागि जानु पाण्डे र गीता पौडेललाई नगद सहित पुरस्कृत गरिएको हो।


त्यस्तै विभिन्न विधामा योगदान पु¥याउने तुल्सीराम यादव, भूपाल थापा, मनिष गुप्ता लगायतलाई सम्मान गरिएको थियो।


पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मीको सम्मानले जिल्लाको पत्रकारिता क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र व्यावसायिक उत्साह बढाउने अपेक्षा गरिएको छ।
डिजिटल युगमा महासंघको नयाँ कदम
साधारणसभाकै अवसरमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको वेबसाइट समेत शुभारम्भ गरिएको छ। डिजिटल माध्यम मार्फत महासंघका गतिविधि, पत्रकार सम्बन्धी सूचना, कार्यक्रम तथा संस्थागत गतिविधिलाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको महासंघले जनाएको छ ।
सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकार महासंघका गतिविधिलाई पनि डिजिटल माध्यममा विस्तार गर्नु संस्थागत पारदर्शिता र सूचनाको सहज पहुँचका दृष्टिले महत्वपूर्ण मानिएको छ।










प्रतिक्रिया