अर्थ-वाणिज्य

‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’



बाँके, ७ भदौः

यहाँका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रवर्द्धनका लागि धार्मिक तथा सांस्कृतिक गन्तव्यको पहिचानलाई पर्यटनसँग जोडेर विकास गर्न आग्रह गरिएको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके च्याप्टरको आज नेपालगन्जमा भएको चौथो वार्षिक साधारणसभामा सहभागीद्वारा यहाँका धार्मिक पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा सरोकार भएका निकायका प्रतिनिधिले नेपालगन्जको शक्तिपिठ बागेश्वरी मन्दिरसँग जोडेर, बाबा बर्फानी धाम, सन्तानेश्वर मन्दिर, गोवर्द्धन धाम, भुवर भवानीलगायत धार्मिकस्थललाई धार्मिक सर्किटका रूपमा विकास गर्न जोड दिएका छन् । सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले मानसरोवर तथा रारा तालको यात्रा गर्ने मूल मार्ग नेपालगन्ज भएकाले भारतीय पर्यटकलाई नेपाल भित्र्याएर लाभ लिन सकिने बताउनुभयो । उहाँले धार्मिक पर्यटकलाई आकर्षित गर्नसक्ने गन्तव्य तथा प्राचीनस्थल लुम्बिनी प्रदेशमा रहेका उल्लेख गर्दै खत्रीले यसबाहेक बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनीमा पर्ने भएकाले प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राख्नुभयो । “हामीले हाम्रा नीति, कार्यक्रम र बजेटको मापन गर्ने एउटा आधार पर्यटन क्षेत्र हो भनेर प्राथमिकतमा राखेका छौँ”, उहाँले भन्नुभयो । पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री खत्रीले पर्यटकीय गन्तव्यको खोजी गर्न प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले पर्यटनमा जिल्लाको परिचय सकारात्मक रूपमा स्थापित भएको उल्लेख गर्दै साझा प्रयत्नबाट पर्यटन प्रवर्द्धन गर्दै आर्थिक गतिविधि चदायमान बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले पर्यटक आकर्षित गर्ने गन्तव्य, सहज पहुँच र गुणस्तरीय सुविधा र भरपर्दो सहायक सेवा निर्माण गर्न पर्यटनलाई स्थानीय समुदायको आय, आर्थिक समृद्धिसँग जोड्न आवश्यक भएको बताउनुभयो । उहाँले भारतको रुपैडिहा सीमासम्म पर्यटकका लागि ग्रीन लाइन र स्मार्ट बोर्डर प्रणालीको व्यवस्था गर्नमा जोड दिँदै नेपालगन्ज पोखरा सिधा हवाई उडानलाई प्रभावकारी र निन्तरताका लागि च्याप्टरले पहल गर्ने उल्लेख गर्नुभयो । सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, च्याप्टरका उपाध्यक्ष झवि शर्मा न्यौपानेलगायतले पर्यटन क्षेत्रका विकास यस क्षेत्रका लागि अपरिहार्य भएको बताउनुभयो । उक्त अवसरमा च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायत पर्यटन व्यवसायीलाई सम्मानित गरिएको थियो ।

प्रकाशित : ७ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६