ब्रेकिंग न्युज

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ



राँझा (बाँके), १० भदौः

भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ । भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताउनुभयो । “बाँकेको नेपालगञ्ज,कोहलपुर, दाङको तुलसीपुर, घोराही, लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले राताम्मे कर्णालीकै स्याउ देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “सस्तो मूल्य र उत्कृष्ट स्वादका कारण उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ पर्न थालेको छ ।” उहाँका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्याउ निकै सस्तो र गुणस्तरीय भएकाले यसको माग उच्च छ । भारतीय स्याउ प्रतिकिलो रु २५० मा बिक्री भइरहेका बेला कर्णालीको ताजा र अग्र्यानिक स्याउ किलोको रु १५० मा पाइन्छ । हिमाली हावापानीमा फलेको कर्णालीको स्याउ बढी स्वादिलो हुने भएकाले सर्वसाधारण यसतर्फ आकर्षित भएका हुन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पु¥याउनु ठूलो चुनौती थियो । अहिले किसान र व्यापारीले सहज रुपमा स्याउ तराईका जिल्लामा पु¥याएर बिक्री वितरण गरेको उहाँले जानकारी दिनुभयो । प्रेमलालसँग वर्षौंअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री वितरण गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधै तराईका बजारमा आइपुग्छ ।” कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगञ्जको धम्बोझी, कारकाँदो र पुष्पलालचोक क्षेत्रमा कर्णालीका महिलाले फुटकर रुपमा स्याउ बिक्री वितरण गरिरहेका छन् । जुम्ला गुठीचौर गाउँपालिका–४ निवासी स्याउ व्यापारी रामप्रसाद न्यौपानेले यो वर्ष कर्णालीको स्याउलाई रुखमै पाक्न दिएर टिपिएकाले थप स्वादिलो रहेको बताउनुभयो । उहाँले चन्दननाथ नगरपालिका–१० गैरागाउँबाट खरिद गरेको ४४३ कार्टुन स्याउ नेपालगञ्जको फलफूल बजारमा बिक्री गर्नुभएको छ । कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिन सके कर्णालीको स्याउ नेपालभर बिक्री वितरण गर्न सकिने व्यवसायी न्यौपानेको भनाइ छ ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६