देश

सेवा संगै सामाजिक रूपान्तरणमा अग्रसर सामाजिक विकास डिभिजन



तौलिहवा, कपिलवस्तु १० भदौं ।

सामाजिक विकास डिभिजन कार्यालय, तौलिहवा कपिलवस्तुले शिक्षा, सामाजिक समावेशिता, रोजगारी प्रवद्र्धन, युवा तथा खेलकुद, लैङ्गिक सशक्तीकरण र लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लगेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम र गतिविधिलाई समेटेर वार्षिक बुलेटिन प्रकाशन गर्दै आफ्नो कार्यस म्पादनलाई सरोकारवाला समक्ष सार्वजनिक गरेको छ। कार्यालयका अनुसार बुलेटिन प्रकाशनको उद्देश्य आफूले गरेका कामबारे नागरिकलाई जानकारी गराउनुका साथै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सुझाव र सल्लाह प्राप्त गर्नु हो।
सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख लक्ष्मण प्रसाद ज्ञवालीको नेतृत्वमा कार्यालयले सेवाग्राहीलाई सरल, सहज र छिटो सेवा उपलब्ध गराउने लक्ष्य सहित सामाजिक क्षेत्रका कार्यक्रम कार्यान्वयनलाई अघि बढाएको जनाएको छ।

डिभिजन प्रमुख लक्ष्मण प्रसाद ज्ञवाली

कपिलवस्तु र अर्घाखाँचीलाई सेवा क्षेत्र बनाएको कार्यालयले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासदेखि शैक्षिक गुणस्तर सुधार, विद्यार्थी लक्षित छात्रवृत्ति, विद्यालय व्यवस्थापन समिति तथा कर्मचारीको प्रोत्साहन र सम्मान, जनचेतनामूलक तालिम तथा अभिमुखीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
त्यसैगरी उच्च शिक्षा विकास, प्राविधिक शिक्षा, युवा तथा खेलकुद, लैङ्गिक सशक्तीकरण तथा मूल प्रवाहीकरण, विद्यालय तथा विशेष शिक्षा, बालअधिकार संरक्षणलगायत सामाजिक विकासका विविध क्षेत्रमा कार्यालयले आफ्नो भूमिका विस्तार गरेको छ।
कार्यालयले दलित, सीमान्तकृत, गरिब तथा लक्षित समुदायका लागि विशेष कार्यक्रम सञ्चालनलाई समेत प्राथमिकता दिएको छ। सामाजिक न्याय र समान अवसरको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले लक्षित वर्गको आवश्यकता पहिचान गरी कार्यक्रम कार्यान्वयन गर्ने नीति कार्यालयले अघि सारेको जनाएको छ।
रोजगारी तथा स्वरोजगार प्रवद्र्धनका क्षेत्रमा पनि कार्यालयले सीप विकासलाई जोड दिएको छ। रोजगारी र स्वरोजगारका लागि आवश्यक तालिम सञ्चालन, उद्यमशीलता प्रवद्र्धन तथा बीउ पुँजी वितरणजस्ता कार्यक्रममार्फत स्थानीयस्तरमै आयआर्जनका अवसर सिर्जना गर्ने प्रयास गरिएको छ।
यसैगरी जिल्ला स्तरमा सञ्चालन हुने विज्ञान तथा प्रविधि सम्बन्धी कार्यक्रमको कार्यान्वयनमा समेत कार्यालयले भूमिका निर्वाह गर्दै आएको छ। बदलिँदो समय अनुसार शिक्षा, प्रविधि र सीपलाई सामाजिक विकाससँग जोडेर अघि बढाउनु पर्ने आवश्यकतालाई कार्यालयले आफ्नो कार्यसम्पादनको महत्वपूर्ण पक्षका रूपमा लिएको छ।
युवा पुस्तालाई सिर्जनशील र उत्पादनशील क्षेत्रमा जोड्न खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ। युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित स्वीकृत भौतिक पूर्वाधार निर्माणका कार्यक्रम कार्यान्वयनमा समन्वय गर्दै स्थानीय तहमा खेलकुदको वातावरण निर्माण गर्न कार्यालयले सहजीकरण गर्दै आएको जनाएको छ।
सामाजिक विकासका कार्यक्रम एकल प्रयासबाट मात्र प्रभावकारी हुन नसक्ने भएकाले कार्यालयले अन्य मन्त्रालय, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय र सहकार्यलाई समेत प्राथमिकता दिएको जनाएको छ।
कार्यालयका गतिविधि र उपलब्धिलाई समेटेर प्रकाशित वार्षिक बुलेटिनले ‘काम गरौँ, जानकारी गराऔँ र सुधारका लागि सुझाव लिऔँ’ भन्ने भावनालाई आत्मसात् गरेको देखिन्छ। सूचना नागरिकको अधिकार भएकाले सरकारी निकायले आफ्ना गतिविधि पारदर्शी रूपमा सार्वजनिक गर्नु सुशासनको महत्वपूर्ण आधार भएको डिभिजन कार्यालयका वरिष्ठ शिक्षा अधिकृत पुन्य प्रसाद न्यौपानेको भनाई रहेको छ ।
सूचना प्रविधिको तीव्र विकाससँगै सार्वजनिक निकायका कामकारबाही नागरिक सम्म पु¥याउन सञ्चारका माध्यमको उपयोग अपरिहार्य बन्दै गएको अवस्थामा सामाजिक विकास डिभिजनले आफ्नो वार्षिक गतिविधिलाई बुलेटिन मार्फत सार्वजनिक गर्नु सकारात्मक अभ्यासका रूपमा लिएको छ।
कार्यालयले आगामी दिनमा पनि सेवाग्राहीमैत्री सेवा प्रवाह, सामाजिक न्याय, समावेशिता, शिक्षा सुधार, सीप तथा रोजगारी प्रवद्र्धन र लक्षित वर्गको उत्थानलाई केन्द्रमा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने डिभिजन कार्यालयका वरिष्ठ अधिकृत तिलकराम पौडेलको भनाइ रहेको छ ।
सामाजिक विकास डिभिजन कार्यालयको यो प्रयासले सरकारी कार्यक्रमलाई कागजी प्रतिवेदनमा सीमित नराखी नागरिकको जीवनस्तर सुधार, अवसरको समान वितरण र सामाजिक रूपान्तरणसँग जोड्ने सन्देश दिएको छ। आगामी दिनमा पनि उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री कार्यशैलीलाई निरन्तरता दिन सके कार्यालयको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६