सिन्धुपाल्चोक, १२ भदौ
रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितले रकम सङ्कलन गरी सहयोग गरेका छन् । विसं २०७८ असार २ गते आएको बाढीका कारण प्रभावित बनेकाहरूले रु एक लाख चार हजार १६५ सङ्कलन गरी सयोग प्रदान गरेका हुन् । पीडितलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले रकम सङ्कलन गरिएको मेलम्ची बाढी प्रभावित प्रकाश श्रेष्ठले बताउनुभयो । “रसुवामा आएको विनासकारी बाढीले धेरै परिवारलाई पीडा, दुःख र अनिश्चितताको अवस्थामा पुर्याएको छ”, उहाँले भन्नुभयो, “केही वर्षअघि हामीले मेलम्ची बाढीको पीडा भोगेका छौँ । उहाँहरूको पीडामा थोरै भए पनि मल्हम लगाउन हामीले मेलम्ची बाढी प्रभावितबाट रकम सङ्कलन गरेका हौँ ।” मेलम्चीवासी, व्यवसायी, समाजसेवी तथा सहयोगीबाट रु एक लाख चार हजार १६५ सङ्कलन गरिएको उहाँले बताउनुभयो । आफूले भोगेको पीडा आज रसुवाका नेपालीलाई परेको भन्दै यसमा सानो सहयोगले पनि महत्त्व राख्ने भएकाले स्थानीयबाट रकम सङ्कलन गरी पीडितलाई उपलब्ध गराइएको मेलम्ची बाढी प्रभावित कुमार दुलालले बताउनुभयो । “अहिलेकोजस्तै त्रासदी हाम्रो मानसपटलमा अझै ताजा छ । यो बेला हामीलाई चुपचाप हेरेर बस्न मनले दिएन”, उहाँले भन्नुभयो, “रसुवाको बाढीले हामीलाई थप भयभित र सर्तक बनाएको छ ।” पुनःस्थापनाका लागि समयमै आवश्यक सहयोग, समन्वय भएमा व्यवस्थापन प्रभावकारी हुने भन्दै दुलालले व्यवस्थापन अभाव हुँदा विपद् प्रभावितले थप पीडा भोग्नुपर्ने भन्दै आपसी सहयोग र समन्वयको आवश्यकता औँल्याउनुभयो । “अब हामी सबै राहत र पीडितको पुनःस्थापनामा जुट्न आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । —










प्रतिक्रिया