काठमाडौँ, १९ भदौ
नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएकामध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । सञ्चारमन्त्री तिमिल्सिना आज दिउँसो शिक्षण अस्पताल पुगेर बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारका लागि गरिएको प्रबन्ध तथा अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीहरूसँग जानकारी लिनुभएको हो । उहाँले उपचाररत व्यक्तिहरूसँग प्रत्यक्ष भेट गरी उहाँहरूको स्वास्थ्य अवस्था, उपचारका क्रममा कुनै समस्या भए/नभएकोलगायत अस्पतालबाट प्राप्त भइरहेको स्वास्थ्य सेवाबारे समेत जानकारी लिनुभएको थियो । अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि यहाँ ल्याइएका ७८ जनामध्ये २९ जना उपचाररत छन् । उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिहरूलाई अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ । अस्पतालका अधिकारीहरूले बाढीपीडितको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिले अस्पतालबाट सहज रूपमा स्वास्थ्य सेवा पाइरहेका जानकारी मन्त्री तिमिल्सिनालाई गराउनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को समयमा घाइते तथा प्रभावित नागरिकको उपचार र आवश्यक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गर्नुभयो । उपचारका क्रममा कुनै समस्या देखिएमा वा थप स्वास्थ्य सेवा, उपचार सामग्री तथा अन्य व्यवस्थापन आवश्यक परेमा सरकारले राज्यस्तरबाट आवश्यक सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढीमा परी घाइते भएका र उद्धार गरिएका तथा प्रभावित व्यक्तिलाई काठमाडौँ ल्याइ विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइएको छ । उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारको निरन्तरता तथा आवश्यक व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । —










प्रतिक्रिया