ब्रेकिंग न्युज

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा



काठमाडौँ, २२ भदौ

भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ । बाँकी क्षेत्रमा विद्युत् पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ । यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारकार्य जारी रहेको मन्त्रालयले जनाएको छ । चिलिमे आयोजनामा ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्याइएको छ । रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह तथा आसपासको क्षेत्रसम्म पुगेको छ । लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो तथा ठूला चट्टान हटाउने काम भइरहेको छ । त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’मा मिनी एक्स्काभेटर तथा बक्याट प्रयोग गरी भग्नावशेष हटाउने कार्य जारी छ । मन्त्रालयका अनुसार मैलुङ खोला आयोजनामा नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत रेकी गरेको छ । बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ । रसुवामा विद्युत् सेवा सञ्चालन हुन समय लाग्ने स्थानका थप एक हजार २६८ घर पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सडक अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टरमार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिनुभयो । –––

प्रकाशित : २२ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६