काठमाडौँ, २३ भदौः
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ गतेदेखि सुरु हुने भएको छ । कांग्रेसले यसअघि भदौ २४ गतेदेखि सुरु गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण केही पर धकेलिएको हो । कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज ३ र ४ गते गर्न लागिएको जानकारी दिनुभयो । उक्त दिन देशभरका छ हजार ७४३ वडामा अधिवेशन हुनुका साथै क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ । आगामी असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको संयोजक खड्काले जानकारी दिनुभयो । केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ । संयोजक खड्काका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहको समन्वयमा अधिवेशन सम्पन्न गरिनेछ । नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशको अधिवेशन आगामी असोज १० गतेभित्र सम्पन्न गर्ने कार्यतालिका छ । जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने संयोजक खड्काले बताउनुभयो । —










प्रतिक्रिया