ब्रेकिंग न्युज

अधुरो बहुउद्देश्यीय पर्यटकिय भवन निर्माण पूरा गर्न प्रदेश सरकारसँग वडा अध्यक्ष गुरुङ्गको माग



कपिलवस्तु २४ भदौं


कपिलवस्तु नगरपालिका–९, जगदीशपुरमा अधुरो बहुउद्देश्यीय पर्यटकिय भवन लामो समयदेखि अधुरो अवस्थामा रहेकाले यसको निर्माण कार्य तत्काल पूरा गर्न वडा अध्यक्ष दीपक बहादुर गुरुङ्गले लुम्बिनी प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ।
जगदीशपुर क्षेत्रको पर्यटकीय विकाससँग जोडिएको उक्त भवन अधुरो रहँदा राज्यको लगानी समेत उपयोगविहीन हुने अवस्था रहेको भन्दै अध्यक्ष गुरुङ्गले भवन निर्माण सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आवश्यक बजेट तथा पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
वडा अध्यक्ष गुरुङ्गले लुम्बिनी प्रदेशसभा सदस्य विष्णु प्रसाद पन्थी मार्फत आफ्ना माग प्रदेश सरकारसमक्ष राख्नुभएको हो। उहाँले आफ्नो वडामा रहेका विकासका समस्या तथा आवश्यकताका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै अधुरो पर्यटकीय बहुउद्देश्यीय भवनलाई प्राथमिकताका साथ सम्पन्न गर्न माग गर्नु भएको बताउनु भयो।
भवन निर्माण सम्पन्न भएपछि त्यसलाई स्थानीय आवश्यकता र सार्वजनिक सेवासँग जोडेर प्रयोग गर्ने योजना रहेको अध्यक्ष गुरुङ्गले बताउनुभयो। उहाँका अनुसार भवनमा प्रहरी प्रशासनका लागि आवश्यक संरचना तथा सेवा सञ्चालन गर्ने सोच समेत रहेको छ। यसले स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा व्यवस्थापनमा सहयोग पुग्नुका साथै लामो समयदेखि अलपत्र रहेको सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग हुने उहाँको भनाइ छ।
जगदीशपुर ताल क्षेत्र कपिलवस्तुको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको अवस्थामा पर्यटकलाई लक्षित गरी निर्माण गरिएको बहुउद्देश्यीय भवन अधुरो रहनु दुःखद भएको स्थानीयको भनाइ छ। भवन निर्माण सम्पन्न भएमा पर्यटन प्रवद्र्धनसँगै स्थानीय प्रशासनिक तथा सार्वजनिक सेवाका लागि समेत उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।
पर्यटकीय सम्भावना बोकेको जगदीशपुर क्षेत्रमा निर्माण भएका पूर्वाधारलाई अलपत्र हुन नदिई पूरा गरेर स्थानीय आवश्यकता र पर्यटन विकाससँग जोड्नुपर्नेमा वडा अध्यक्ष गुरुङ्गको जोड छ। राज्यको लगानीबाट निर्माण भएका संरचनाको संरक्षण र अधिकतम उपयोग सुनिश्चित गर्नु सरकार र स्थानीय तह दुवैको साझा जिम्मेवारी भएकाले अधुरा आयोजना पूरा गर्न प्रदेश सरकारको सक्रियता आवश्यक देखिन्छ।

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६