ब्रेकिंग न्युज

शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’



भोजपुर, २७ भदौ

भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो । अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरैजसो स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । हाल किसानले स्थानीयस्तरमै प्रतिकेजी रु १५० देखि रु २०० सम्ममा खुर्सानी बिक्री गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्याङका स्थानीय किसान टिकाराम तिवारीका अनुसार तिवारीभञ्याङ सङ्कलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० केजीसम्म खुर्सानी बाह्य जिल्लाका बजारमा पठाउने गरिएको छ । सडक सुविधाका कारण व्यापारी खुर्सानी खरिद गर्न सोझै किसानका खेतबारी र स्थानीय सङ्कलन केन्द्रसम्म पुग्ने गरेका छन् । तिवारीले विगत पाँच वर्ष अघिदेखि खुर्सानी खेतीसँगै अन्य किसानले उत्पादन गरेको खुर्सानी सङ्कलन गरेर बाहिर पठाउँदै आएको बताउनुभयो । “स्थानीयस्तरमा उत्पादन भएको खुर्सानी बाह्य जिल्लामा पठाउँदै आएको छु” उहाँले भन्नुभयो, “तिवारीभञ्याङबाट मात्र दैनिक ४०० केजीसम्म खुर्सानी शहरी क्षेत्रमा गइरहेको छ ।” उत्पादन भएको खुर्सानी बिक्री गर्न र बजारीकरणका लागि हाल कुनै समस्या नरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान कमला थापाले बताउनुभयो । भोजपुरको पहाडी हावापानीमा उत्पादन भएको अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाहिरी जिल्लामा माग उच्च रहेको उहाँको भनाइ छ । जिल्लामा यस वर्ष करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । यो वर्षको खुर्सानी अझै बिक्री भइरहेकाले कुल कति उत्पादन भयो भन्ने अन्तिम तथ्याङ्क आउन बाँकी रहेको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा भने जिल्लामा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा करिब रु २३ करोड भित्रिएको तथ्याङ्क रहेको प्रमुख यादवले जानकारी दिनुभयो । “अकबरे खुर्सानी भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,” प्रमुख यादवले भन्नुभयो, “धेरै किसान खुर्सानीको व्यावसायिक खेतीमा आबद्ध रहेका छन् । यहाँको खुर्सानी बाह्य जिल्लामा ठूलो परिमाणमा निर्यात हुँदै आएको छ ।” स्थानीय तहले पनि खुर्सानीको खेतीको लागि किसानलाई अनुदान सहयोग गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको खुर्सानीको शहरका बजारमा राम्रो माग रहेको किसानको भनाइ छ । –––

प्रकाशित : २७ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६