ब्रेकिंग न्युज

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल



नारायणगढ (चितवन), २८ भदौ

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्याकको आज सफल परीक्षण गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन सञ्चालन गराइएको उहाँले जानकारी दिनुभयो । उहाँले निरन्तर काम गरेर आज नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गराउन सफल भएको बताउनुभयो । कार्यस्थलमा खटिनुभएका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटाले सुरुमा खाली ग्यास बुलेट दुवैतर्फ पठाएर परीक्षण गरिएको र सफल भएपछि पालैपालो अन्य सवारीसाधन पास गराइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुमा खाली ग्यास बुलेट पठायौँ । त्यो परीक्षण सफल भएपछि क्रमशः पालैपालो दुवैतर्फ सवारीसाधन पास गराएका हौँ ।” उहाँले नयाँ ट्याकबाट करिब ५० वटा सवारीसाधन सञ्चालन गराइसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज परीक्षणका लागि मात्रै नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गरिएको हो । निरन्तर भित्ता काटेर निर्माण गरिएको नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि परीक्षण गरिएको उहाँले बताउनुभयो । इञ्जिनियर देवकोटाका अनुसार भोलिदेखि उक्त स्थानमा ग्राभेल बिछ्याउने काम सुरु गरिनेछ । त्यससँगै नाली निर्माण, पानी सोस्ने तथा तर्काउने व्यवस्था मिलाउने र सडकमाथि देखिएका चिरा पुर्ने काम पनि अघि बढाइनेछ । उहाँले थप्नुभयो, “थप समस्या नआएमा तीन दिनभित्र यी काम सकाएर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने लक्ष्य छ । ” सूचना अधिकारी मिश्रका अनुसार नयाँ ट्याक करिब २५२ मिटर लामो छ । सडकको चौडाइ सात मिटर र नाली एक मिटर चौडा रहेको छ । पुरानो भासिएको सडक भएको स्थानबाट नयाँ ट्याक पाँचदेखि १० मिटरसम्मको उचाइमा छ । उहाँले भन्नुभयो, “अहिलेसम्म कामका क्रममा थप समस्या देखिएको छैन । मौसमले साथ दिएमा र थप समस्या केही नआएमा तीन–चार दिनभित्र आवश्यक काम सम्पन्न गरेर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ । ” –––

प्रकाशित : २८ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६