ब्रेकिंग न्युज

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण



गण्डकी, ३१ भदौ

गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताउनुभयो । गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकामा साउनमा त्यो सङ्ख्या बढेर एक हजार २४७ पुगेको थियो । भदौ लागेयता ३८२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा २२८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रका निर्देशक मिश्रले जानकारी दिनुभयो । त्यस मध्ये सबैभन्दा बढी बागलुङमा १७० जनामा सङ्क्रमण देखिएको छ । सोही अवधिमा कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जा चार, तनहुँ तीन र लमजुङमा दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ”, निर्देशक मिश्रले भन्नुभयो, “जोखिम भने कायमै रहेकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ ।” प्रदेशभरिमा बागलुङ नगरपालिका डेङ्गुबाट सबैभन्दा बढी प्रभावित भएको उहाँको भनाइ छ । पछिल्लो हप्ता सङ्क्रमण पुष्टि भएका २२८ मध्ये ५७ जना त्यस नगरपालिकामा रहेका छन् । बागलुङपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहमा सङ्क्रमण बढी देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गु सङ्क्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभयो । समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गुले प्रकोपको रुप लिने उहाँको भनाइ छ । डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ । डेङ्गु नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताउनुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ । डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रममा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने चिकित्सकको सुझाव छ । उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उहाँहरु बताउनुहुन्छ । डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलने गरेको केन्द्रका निर्देशक मिश्रले बताउनुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र यसले दिनमा मात्र टोक्ने बताइएको छ ।

प्रकाशित : ३१ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६