वनजन्य स्रोतको सदुपयोग मार्फत सामाजिक विकास र रोजगारी सिर्जनामा जोड
कपिलवस्तु, १ भदौ ।
बाणगंगा नगरपालिका–१, ३, ४ र ५ मा फैलिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै उद्यमशीलता र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि करिब १० करोड रुपैयाँको बजेट पारित गरेको छ।
समूहको १४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ९ करोड ८४ लाख ९८ हजार ५ सय ९४ रुपैयाँको बजेट विभिन्न शीर्षकमा पारित गरेको हो। सामुदायिक वनको आम्दानीलाई वन संरक्षणमा मात्र सीमित नराखी उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा परिचालन गर्ने उद्देश्यसहित बजेट निर्माण गरिएको समूहले जनाएको छ।

सामुदायिक वन समूहले यसअघि पनि उपभोक्तालाई हाते ट्र्याक्टर उपलब्ध गराउने, विभिन्न स्थानमा ढल निकास तथा कल्भर्ट निर्माण गर्नेलगायतका काममा बजेट परिचालन गर्दै आएको छ। यसले सामुदायिक वनलाई वन संरक्षणको जिम्मेवारीसँगै स्थानीय विकास र उपभोक्ताको आवश्यकतासँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।
स्थानीय तहसँग सहकार्य आवश्यक नगरप्रमुख अर्याल
साधारण सभालाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले वन संरक्षण, व्यवस्थापन र उपयोगका क्षेत्रमा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो।
उहाँले वन ऐन, २०७६ तथा स्थानीय सरकार सञ्चालन ऐनले समेत वन क्षेत्र र स्थानीय तहबीचको सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो।
वन संरक्षणसँगै वनजन्य उत्पादनको बिक्रीबाट प्राप्त आम्दानीलाई संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा पुनः लगानी गर्नुपर्नेमा नगर प्रमुख अर्यालले जोड दिनुभयो। उहाँले सामुदायिक वनलाई सामाजिक विकास, उद्यमशीलता र गरिबी न्यूनीकरणसँग जोडेर अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
वनको आम्दानीलाई समुदायको समृद्धिसँग जोड्न सके सामुदायिक वन संरक्षणको माध्यम मात्र नभई स्थानीय आर्थिक विकासको आधार बन्न सक्ने उहाँको भनाइ थियो।
संस्थागत सहयोग प्रति अध्यक्षको आभार
श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी ‘सुशील’ले सामुदायिक वनलाई वर्तमान अवस्थामा ल्याउन सहयोग गर्ने राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, संघसंस्था, कार्यसमिति, जिल्ला समितिका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभयो।
अध्यक्ष ठकुरीले आगामी दिनमा पनि वन संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितमा काम गर्न सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो।
वन व्यवस्थापन र उपभोक्ता हितमा जोड
कार्यक्रममा समूहकी सचिव सुस्मा खाँण, कोषाध्यक्ष बिना राना, लेखा संयोजक गुरुदेव पौडेल, डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटा, संस्थापक अध्यक्ष तथा वैज्ञानिक वन व्यवस्थापन केन्द्रीय अध्यक्ष रेनु सेन, मोतिपुर सब–डिभिजन वन कार्यालयका एहजाद अहमद अन्सारी लगायतको आतिथ्यता रहेको थियो।

त्यस्तै, विभिन्न वडाका वडाध्यक्ष, वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेशका अध्यक्ष दीपक थापा, सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई, जिल्ला अध्यक्ष जयलाल गिरी, विभिन्न सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया