कपिलवस्तु, ४ असोज
जनमैत्री कृषि सहकारी संस्था लिमिटेडले कृषकको आर्थिक सबलीकरणसँगै संस्थागत विकास र सदस्य केन्द्रित सेवा विस्तारलाई प्राथमिकता दिने भएको छ। संस्थाको ११औँ वार्षिक साधारण सभाका लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषक अभिमुखीकरण, सहकारी शिक्षा, सीपमूलक तालिम, मलखादको सहज उपलब्धता, लगानी विविधीकरण र सदस्य सेवा विस्तारलाई प्राथमिकता दिइएको हो।
संस्थाकी अध्यक्ष सरस्वती गौतमद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा कृषकका समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसँग समन्वय गर्ने उल्लेख छ। सदस्यको आवश्यकतामा आधारित कृषि तथा सीपमूलक तालिम सञ्चालनलाई निरन्तरता दिँदै कृषकको उत्पादन क्षमता र व्यावसायिक दक्षता बढाउने लक्ष्य राखिएको छ।
संस्थाले कृषकका लागि सञ्चालन गर्दै आएको मलखाद बिक्रीलाई थप व्यवस्थित गर्दै पर्याप्त उपलब्धताका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भएको छ। बढ्दो कारोबारलाई मध्यनजर गर्दै आवश्यक जनशक्ति व्यवस्थापन तथा विभागीय कार्यसम्पादनलाई प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ।
त्यसैगरी, स्थायी कार्यालय भवन निर्माणका लागि उपयुक्त स्थानमा जग्गा खरिद प्रक्रिया अघि बढाउने र कार्यालयको भौतिक संरचना व्यवस्थित गर्ने नीति लिइएको छ। संस्थाको लगानी विविधीकरणका लागि कार्यक्षेत्र तथा आवश्यकता हेरी कार्यक्षेत्रबाहिर व्यावसायिक सम्भाव्यता अध्ययन गर्ने कार्यक्रमसमेत प्रस्ताव गरिएको छ।
बचत तथा लगानी वृद्धि गर्न घरदैलो कार्यक्रमलाई निरन्तरता दिने, सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गर्ने तथा सञ्चालक समिति र उपसमितिका बैठकलाई व्यवस्थित र परिणाममुखी बनाउने नीति संस्थाले लिएको छ। साथै, बिमा सम्बन्धी कार्यविधि निर्माण गरी बिमाको सम्भाव्यता अध्ययन गर्ने योजना पनि अघि सारिएको छ।
सहकारीले ज्येष्ठ सदस्यका लागि तीर्थाटन तथा अवलोकन भ्रमण र बाल सदस्यका लागि रचनात्मक कार्यक्रम तथा अवलोकन भ्रमणलाई निरन्तरता दिने भएको छ। संस्थाका गतिविधि, सेवा तथा सहकारीसम्बन्धी जानकारी सदस्यसम्म पु¥याउन रेडियो कार्यक्रम सञ्चालन गर्ने योजना पनि कार्यक्रममा समेटिएको छ। साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम, सचिव कमल प्रसाद ढुङ्गानाद्धारा प्रस्तुत प्रगती प्रतिवेदन, कोषाध्यक्ष खगेन्द्र घिमिरेद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ । सोही सभामा संयोजक विश्वनाथ अधिकारीद्धारा प्रस्तुत लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन सभाले पारित गरेको छ । साधारण सभाको संचालन मित्रलाल शर्माले गर्नु भएको थियो ।
कृषि क्षेत्रमा सहकारीको भूमिका बढाउदै कृषकलाई उत्पादन, सीप, कृषि सामग्री, प्रविधि र आयआर्जनसँग जोड्ने लक्ष्य संस्थाले अघि सारेको छ। कृषकको बचतलाई सुरक्षित राख्दै उत्पादनशील क्षेत्रमा लगानी, संस्थागत सुशासन र सदस्यकेन्द्रित सेवा विस्तार गर्न सके सहकारीले स्थानीय कृषि अर्थतन्त्रमा थप योगदान पु¥याउन सक्ने विश्वास लिएको छ ।
हेमनाथ ज्ञवालीको नेतृत्वमा संचालक समिति
सहकारीको ११ औं वार्षिक साधारण सभाबाट हेमनाथ ज्ञवालीको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा कमल प्रसाद ढुङ्गाना, सचिव खगेन्द्र घिमिरे, कोषाध्यक्ष छविलाल ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जगननाथ मरासिनी, रामनारायण मरासिनी, रोमलाल घिमिरे, चोभा अर्याल, सुभाष चन्द्र आत्रेय निर्वाचित हुने भएको निर्वाचन समितिका सदस्य सर्वेन्द्रदेव खनालले जानकारी दिनु भयो ।

त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा विश्वनाथ अधिकारी सदस्यहरुमा पोम बहादुर हिस्की, गोमा पन्थी पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक अर्जुन शाही सदस्यद्धय सरोज खनाल र सर्वेन्द्र देव खनालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।









प्रतिक्रिया