रसुवा, १९ असोज
गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन् । सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवीण् आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिनुभयो । बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ । चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको स्कुलमा पठाइएको छ । मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी मावि भलायडाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माविमा बसोबासको व्यवस्थासहित पठनपाठनको प्रबनध मिलाइएको छ । बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो । –––









प्रतिक्रिया