गण्डकी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत



कास्की, २ मङ्सिर

कतार र कुवेतमा १८ वर्ष बिताउनुभएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहनुभएको छ । विदेशको रोजगारी छाडेर गाउँ फर्किनुभएका उहाँले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाउनुभएको हो । विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपरेको अनुभवले उहाँलाई स्वदेशमै केही गर्ने प्रेरणा मिल्यो । अहिले परिवारसँगै बसेर आफ्नै पेसा गर्न पाउँदा उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँको गोठमा अहिले १६ वटा भैँसी छन् । तीमध्ये पाँचवटा दुहुना छन् । क्षेत्रीले दूध बिक्री गर्नुको सट्टा दही जमाएर मोही पार्ने र घ्यू उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । पाँच दिनको दूधबाट चार लिटर घ्यू उत्पादन हुने उहाँले बताउनुभयो । उत्पादित घ्यू प्रतिलिटर रु एक हजार ५०० मा बिक्री हुन्छ । उहाँले उत्पादन गरेको घ्यू सिदिङमा मात्र नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्‍याएर पर्यटकलाई पनि बिक्री गर्नुहुन्छ । पदयात्रामा आउने पर्यटकसम्म स्थानीय उत्पादन पुर्‍याउन सकेपछि बजारको समस्या नरहेको उहाँको अनुभव छ । भैँसीपालनका लागि उहाँले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आउनुभएको छ । दूध दिने भैँसीलाई गोठमा बाँधेर राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने गर्नुभएको छ । सिदिङदेखि कालीमाटीमाथिको लेकसम्म भैँसी चराउन लैजाँदा घाँस, दाना र परालको खर्च कम हुने उहाँ बताउनुहुन्छ । “दूध दिने भैँसीलाई गोठमै बाँध्ने हो, दूध दिन छाडेकालाई लेकतिर चराउन लैजाने हो । यसबाट घाँस, दाना र परालको खर्च कम हुन्छ,” उहाँले भन्नुभयो । घ्यू उत्पादनसँगै क्षेत्रीले राँगा तथा भैँसीको खरिदबिक्री पनि गर्दै आउनुभएको छ । राम्रो दूध दिने भैँसीको मूल्य रु एक लाखसम्म पर्ने उहाँले बताउनुभयो । घ्यू र भैँसीको बिक्रीबाट घरखर्च कटाएर वार्षिक करिब रु तीन लाख बचत हुने गरेको उहाँको भनाइ छ । भैँसीपालनमा परिवारको साथ र सहयोगले व्यवसायलाई निरन्तरता दिन सहज भएको उहाँ बताउनुहुन्छ । उहाँले छोरीलाई स्नातक तहसम्म अध्ययन गराउनुभएको छ । छोरी अहिले जापानमा हुनुहुन्छ भने दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् । विदेशमा आर्जन गरेको अनुभव र मेहनत आफ्नै गाउँमा उपयोग गर्न सके आम्दानीका लागि विदेश नै जानुपर्ने बाध्यता नहुने उहाँको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै बस्न पाउँदा आफू सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ ।

प्रकाशित : ३ मंसिर २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६